
फिफा विश्वकप २०२६ को विजेता टोलीले यसपटक ट्रफी र स्वर्ण पदकसँगै पहिलोपटक विशेष ‘च्याम्पियनसिप रिङ’ पनि प्राप्त गर्ने भएको छ। फिफा विश्वकपको इतिहासमा यस्तो व्यवस्था पहिलोपटक लागू गर्न लागिएको हो।
फिफाका अनुसार आइतबार, जुलाई १९ मा न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलपछि विश्वकप विजेता टोलीलाई प्रतिष्ठित ट्रफी, स्वर्ण पदक र विशेष ‘च्याम्पियनसिप रिङ’ प्रदान गरिनेछ।
विश्वकप २०२६ को सम्झनामा कुल २,०२६ वटा सीमित संस्करणका रिङ तयार गरिनेछन्।
तीमध्ये ३० वटा रिङ विजेता टोलीका खेलाडी र टोलीका सदस्यलाई प्रदान गरिनेछ भने बाँकी १,९९६ वटा रिङ आधिकारिक लाइसेन्स प्राप्त उत्पादनका रूपमा विश्वभरका समर्थकका लागि बिक्री गरिने फिफाले जनाएको छ।
रिङको एक भागमा फिफा विश्वकप ट्रफीको आकृति रहनेछ भने अर्को भागमा विजेता राष्ट्रको पहिचान झल्किने विशेष डिजाइन राखिनेछ।
प्रत्येक रिङमा छुट्टै क्रम संख्या रहनेछ। साथै, सम्बन्धित व्यक्तिको औँलाको नापअनुसार तयार गरिने र त्यससँगै प्रामाणिकताको प्रमाणपत्र पनि प्रदान गरिनेछ।
फाइनल खेल सकिएलगत्तै विजेता टोलीका कप्तान र मुख्य प्रशिक्षकलाई सम्झनास्वरूप अस्थायी रिङ प्रदान गरिनेछ। त्यसपछि खेलाडी र टोलीका सदस्यका लागि तयार गरिने ३० वटा रिङ व्यक्तिगत नापअनुसार निर्माण गरी विशेष समारोहमार्फत हस्तान्तरण गरिने फिफाले जनाएको छ।
विश्वकपको फाइनल खेल नेपाली समयअनुसार आइतबार मध्यराति १२:४५ बजे सुरु हुनेछ। उपाधिका लागि अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुनेछ। सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई र स्पेनले फ्रान्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
