कप्तान रोहितकुमार पौडेलको शतकीय प्रदर्शनले पनि नेपाललाई जित दिलाउन सकेन। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो खेलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो।
पहिला ब्याटिङ गर्दै नेपालले ५० ओभर पूरा गर्न नसक्दै २३३ रनमा अलआउट भयो। कप्तान रोहितले उत्कृष्ट पारी खेल्दै १३० बलमा ५ चौका र २ छक्कासहित १०० रन पूरा गरे। उनको यो एकदिवसीय करियरको दोस्रो शतक हो। आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ र करण केसीले १३ रन जोडे। अन्य ब्याटरले दोहोरो अंक पार गर्न सकेनन्।
बलिङतर्फ युएईका जाहिद अलीले ४ विकेट लिए भने जुनैद सिद्धिकीले ३ विकेट हात पारे।
लक्ष्य पछ्याउने क्रममा युएईले ४३.३ ओभरमा ५ विकेट गुमाउँदै २३४ रन बनाएर सहज जित हात पार्यो। ओपनर आर्यन शर्माले ९८ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ९८ रन बनाए। उनको साथमा अलिसान सरफुले ४५ रनको योगदान दिए।
नेपालका सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी र दीपेन्द्र ऐरीले समान १–१ विकेट हात पारे।
यो हारपछि नेपालको लिग–२ यात्रा थप कठिन बनेको छ। अहिले नेपाल १८ खेलमा १२ अंकसहित सातौं स्थानमा छ भने युएई समान खेलबाट ८ अंकसहित पुछारमा छ।
नेपालले अब शनिबार अमेरिकाविरुद्ध आफ्नो तेस्रो खेल खेल्नेछ, जसमा जित आवश्यक हुनेछ।
