अब भिजिट भिसामा विदेश जान चाहने नेपालीका लागि प्रक्रिया केही सहज भएको छ। सरकारले शुक्रबारदेखि नयाँ मापदण्ड लागू गरेको छ, जसअनुसार ६ महिनाभन्दा बढी अवधि बाँकी राहदानी, गन्तव्य देशको भिसा, दुईतर्फी हवाई टिकट र स्वेच्छाले यात्रा गर्न लागेको स्वघोषणा भए पुग्नेछ।
अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी नयाँ व्यवस्था लागू भएको जानकारी दिएको हो। विभागका अनुसार, यसअघि लागू गरिएको ६ बुँदे मापदण्ड खारेज गरिएको छ। २०८० माघ १० मा लागू गरिएको पुरानो मापदण्ड र अन्य प्रावधानहरू हटाई १३ कात्तिकको मन्त्रीस्तरीय निर्णयबाट नयाँ प्रक्रिया ल्याइएको हो।
नयाँ नीतिले विदेश जाने प्रयोजनका लागि अनावश्यक कागजी झन्झट कम गरेको बताइएको छ। विभागका अधिकारीहरूका अनुसार, यसले विशेष गरी काम, अध्ययन र भ्रमण प्रयोजनका यात्रुहरूलाई सहजता दिनेछ।
अध्यागमन विभागले सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूलाई यो मापदण्डबारे नागरिकलाई जानकारी गराउन आग्रह गरेको छ। अब, ‘भिजिट भिसा लिन गाह्रो भयो’ भन्ने गुनासो केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।
