२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

कर्णाली प्रदेशको सुर्खेतलगायत देशका विभिन्न स्थानमा देखिएको ग्यास अभाव समाधान गर्न नेपाल आयल निगमले भारतसँग थप ग्यास माग गरेको छ ।

विगतमा ४९ हजार ५०० मेट्रिक टन ग्यास माग गर्दा बढीमा ४५ हजार मेट्रिक टन मात्रै प्राप्त हुने गरेकोमा यसपटक निगमले भारतीय आयल कर्पोरेसनसँग ५५ हजार मेट्रिक टन ग्यास माग गरेको जनाएको छ ।

सुर्खेतमा आइतबार आयोजित सर्वपक्षीय बैठकमा निगमका प्रवक्ता मनोज ठाकुरले ग्यासको आपूर्ति सहज बनाउन भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग गरिएको जानकारी दिए । उनका अनुसार निगमले ६० हजार मेट्रिक टन माग गरे पनि भारतीय आयल कर्पोरेसनले ५५ हजार मेट्रिक टन उपलब्ध गराउने सहमति जनाएको छ ।

उक्त ग्यास आएपछि अहिले देखिएको अभाव केही हदसम्म समाधान हुने ठाकुरले दाबी गरे ।

उनका अनुसार असारअघि ग्यासको खपत तुलनात्मक रूपमा कम थियो । तर, असारदेखि माग बढेपछि आपूर्ति व्यवस्थापनमा समस्या देखिएको हो । निगमले फागुनमा ३१ हजार, चैतमा ३८ हजार, वैशाखमा ३२ हजार र जेठमा ३३ हजार मेट्रिक टन ग्यास आपूर्ति गरेको थियो । असारमा भने ४४ हजार ५०० मेट्रिक टन ग्यास आपूर्ति भएको थियो ।

माग बढ्दै गए पनि सोहीअनुसार आपूर्ति हुन नसक्दा बजारमा ग्यासको अभाव देखिएको निगमको भनाइ छ ।

नेपालमा ग्यास ल्याउने बुलेट पनि भारतकै भएकाले आपूर्ति व्यवस्थापनमा थप चुनौती रहेको ठाकुरले बताए । उनका अनुसार नेपालमा करिब ६५० वटा भारतीय बुलेटले ग्यास ढुवानी गर्दै आएका छन् ।

यसअघि लागू गरिएको आधा सिलिन्डर वितरण प्रणालीका कारण पनि अहिलेको समस्या थप जटिल बनेको निगमको भनाइ छ । भारतसँग थप ग्यास माग गरिएकाले आपूर्ति प्रक्रिया जारी रहेको भन्दै ठाकुरले ग्यास अभाव हुने हल्लाको पछि नलाग्न र अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न उपभोक्तालाई आग्रह गरे ।

नेपाल आयल निगमका अनुसार साउन १ गतेदेखि २३ गतेसम्म मात्रै सुर्खेतमा ४१ हजार ५१७ सिलिन्डर ग्यास वितरण भइसकेको छ । निगम सुर्खेतका प्रमुख दीपक घिमिरेले ठूलो परिमाणमा ग्यास आए पनि उपभोक्ताको लाइन घट्न नसकेको बताए ।

उनका अनुसार व्यवसायीसँग पहिले नै खाली रहेका सिलिन्डर एकैपटक भर्न सम्भव नभएकाले आपूर्ति बढेसँगै ती सिलिन्डर पनि क्रमशः भर्दै जाने व्यवस्था मिलाइएको छ ।

यसैबीच, सुर्खेतमा करिब एक महिनादेखि देखिएको ग्यास अभाव समाधान गर्न जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठक आयोजना गरेको थियो । बैठकले विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा ज्येष्ठ नागरिकका लागि आयल निगम र प्रशासनको रोहबरमा १० प्रतिशत ग्यास जगेडा राखेर वितरण गर्ने निर्णय गरेको छ ।

बैठकले अनावश्यक रूपमा ग्यास भण्डारण नगर्ने तथा व्यवसायीसँग रहेका खाली सिलिन्डर तत्काल भर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले ग्यास वितरणमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विद्यार्थीलाई प्राथमिकता दिन व्यवसायीलाई निर्देशन दिए ।

सुर्खेतका ग्यास व्यवसायीले भने जिल्लामा ४० हजारभन्दा बढी खाली सिलिन्डर रहेको भन्दै ती सबै भर्न आयल निगमसँग माग गरेका छन् । मागको तुलनामा आपूर्ति कम भएकाले उपभोक्तालाई ग्यास वितरण गर्न कठिनाइ भइरहेको भन्दै उनीहरूले वितरण प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेका छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय