
पछिल्लो तीन महिनामा देशभर ३ हजार २९६ वटा विपद्का घटना भएका छन्। ती घटनामा १६० जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि असार ३२ गतेसम्म भएका विपद्का घटनामा दुई जना बेपत्ता भएका छन् भने ९४५ जना घाइते भएका छन्। यस अवधिमा ४ हजार ३७५ परिवार प्रभावित भएका छन्।
सबैभन्दा धेरै ८९७ वटा आगलागीका घटना भएका छन्। आगलागीमा १७ जनाको मृत्यु, १०९ जना घाइते तथा ९९० परिवार प्रभावित भएका छन्।
यस्तै, सर्पदंशका ५१४ घटनामा ३८ जनाको मृत्यु भएको छ। यी घटनामा ४७९ जना घाइते भएका छन् भने ५१७ परिवार प्रभावित भएका छन्।
हुरीका ४७७ घटनामा १३ जनाको मृत्यु, ६८ जना घाइते तथा १ हजार ३५६ परिवार प्रभावित भएका छन्।
पहिरोका ४३३ घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते तथा ३५१ परिवार प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार चट्याङका २२३ घटनामा २४ जनाको मृत्यु, १२० जना घाइते तथा २६२ परिवार प्रभावित भएका छन्।
वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते तथा २८७ परिवार प्रभावित भएका छन्।
त्यसैगरी, बाढीका १६१ घटनामा नौ जनाको मृत्यु, दुई जना बेपत्ता, नौ जना घाइते तथा ३९६ परिवार प्रभावित भएका छन्।
भारी वर्षाका १५३ घटनामा चार जनाको मृत्यु, एक जना घाइते तथा १३२ परिवार प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार लेक लाग्ने ५५ घटनामा २१ जनाको मृत्यु भएको छ भने ३५ जना अझै अस्वस्थ छन्। ढुंगा खसेर भएको एक घटनामा दुई जनाको ज्यान गएको छ।
यस अवधिमा वन डढेलोका १९१ घटना भएका छन्। ती घटनामा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्। साथै, हिउँपहिरोका दुई घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएको प्राधिकरणले जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
